देश

    प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

    नवलपुर टुडे
    २०७९ पुस १९ | बिहान ०७:०९ बजे

      काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल दाहालले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।

      प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

      पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए । विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार पहिलो चरणमा सोमबार प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन् ।

      केही सचिव र विभागका प्रमुखले अझै आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए । उनीहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए ।

        कमेन्टहरु