बुटवलमा दर्ता नभएका ई रिक्सा सञ्चालनमा रोक


बुटवल, पुस १८ । बुटवल उपमहानगरपालिकाले दर्ता नभएका ई रिक्सा सञ्चालनमा रोक लगाइएको छ । दर्ता नगरी सञ्चालन भएका ई रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको र दर्ता नभएका ई रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा आइतबारदेखि बुटवलमा दर्ता नभएका ई रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा ई रिक्सामात्रै चल्न पाउनेछन् । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवल उपमहानगरले दर्ता नभएका ई रिक्सा सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने अभियान सञ्चालन गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको व्यवस्थापन शुरु भएको उपमहानगरले जनाएको छ ।





