समाचार

    लामो समय अलपत्र रहेको सडक प्रधानमन्त्री दाहालको स्वागतको लागि आज बिहानै सम्याईयो

    नवलपुर टुडे
    २०७९ पुस १६ | मध्यान्ह ०६:०९ बजे

      चितवन । तेस्रोपटक प्रधानमन्त्री पद ग्रहण गरेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृह जिल्ला चितवन आएका छन् । उनको स्वागतमा भरतपुर महानगरपालिकाले वडा नं. १० दीपेन्द्र चोकदेखि केहि भित्र पर्ने हिमाली चोकको खाल्डो बिहान झिसमिसेमै पुरिएको छ । अल्कत्रा सहितको गिटी खसाली तीनहात बाटो सम्याएको हो ।

      यस क्षेत्रमा मेयर रेनु दाहालको निवास पर्छ । यस चोक हुँदै दैनिक मेयर दाहाल निवासदेखि माहानगर र माहानगरदेखि निवास आवतजावत गर्छिन् । चितवन आएको बेला प्रधानमन्त्री प्रचण्ड पनि यस बाटो हुदै मेयरको निवास पुग्ने गर्छन् । चोकको खाल्डो पुरे पनि निर्माणधिन हिमाली पथ भने जस्ताको त्यस्तै छ । सडक निर्माण सुरु गरेको लामो समय हुदा पनि पूर्णता नपाउदा धूलोले सताइरहेको स्थानीय टंक सुवेदीले बताए । उनले भने, ‘बर्खामा हिला र खाल्डोले हिडडुल गर्न गाहे थियो । अहिले धूलोले बसिसक्नु छैन् । बुबा तथा प्रधानमन्त्रीको स्वागतमा बाटो धुन र चोकको खाल्डो पुर्न सक्ने मेयरले जनताको समस्या देखिनन् ।’ जनप्रतिनिधिले देखावटी काम गरेको सुवेदीको गुनासो छ । आज बिहान महानगरले वीरेन्द्र क्याम्पस चोकदेखि दीपेन्द्र चोकसम्मको सडक दमकलमा पानी ल्याएर सफा गरेको थियो ।

      स्थानीय बासुदेव रानाभाटले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए । ‘यो नाटक र नौटंकी हो । आगोलागी भए निभाउन सक्दैन एकदिन प्रधानमन्त्री चितवन आउदा पुरै बारुद यन्त्र ल्याएर बाटो पखाल्न के आवश्यक थियो ? यो राज्य संयन्त्रको दुरुपयोग हो’, उनले भने ।

      हिमाली पथ निर्माणमा ध्यान नजादा एक वर्षदेखि स्थानीयले सास्ती खेप्दै आएको रानाभाटले बताए । उनले भने, ‘लगभग एक वर्षभन्दा बढी भइसक्यो । सुरुको ६ महिना त हामीले आफ्नो सामान्य सवारीसाधन पनि घर लान नसकेर बीच बाटोमा राखेर हिडेका हौं । अहिले पूरै धूलो उडेर साना केटाकेटीदेखि लिएर ज्येष्ठ नागरिकलाई धेरै समस्या परिरहेको छ । भवन निर्माणको सामग्री ल्याउन सक्ने अवस्था छैन खाल्डा खुल्डीले । यही बाटो प्रधानमन्त्री हिड्नुहुन्छ । मेयर हिड्नुहुन्छ । घर यही छ । कसैको पनि राम्रोसँग ध्यान गएको छैन ।’

      २०७८ साल मंसिरबाट यस सडकको काम सुरु भएको थियो । पुरानो सिनर्जी चोकदेखि भित्र पहिलो घुम्तीबाट बीरेन्द्र बहुमुखी क्याम्पस (डिग्री) कलेजसम्मको करिब ७०० मिटरको बाटो बन्न लागेको हो । ६ मिटर चौडाइको यस सडकको ढल तथा चेम्बरको जिम्मा भरतपुर महानगरपालिकाले ठेकेदार दिपक लामालाई दिएको थियो । लामाले सार्वजनिक बोर्ड नराखी काम गरेका छन् । साथै उनको दुईवटा मोबाइल नम्बर नै सेवामा छैनन् । यस सडक निर्माणमा माहानगरले खटाएका इञ्जिनियर शिवहरी अधिकारीको समेत फोन उठेन ।

      महानगरको ७५ प्रतिशत र स्थानीयको २५ प्रतिशत आर्थिक सहयोगमा यस बाटोको ढल र चेम्बरको काम भएको हिमाली टोल विकास समितिका निर्वतमान अध्यक्ष बद्री खनालले बताए । करिब एक करोड १२ लाख रुपैयाँमा ठेक्का लगाएको उनको भनाइ छ । ठेकेदारको कारण सडकको काम रोकिएको खनालले बताए । उनले भने, ‘५० लाखको काम गरेर ६८ लाख माग गरेको छ । उसले भुक्तानी नलिँदा महानगरबाट कालोपत्रेको लागि परेको बजेट रोखिएको छ ।’ सडक कालोपत्रे गर्नको लागि महानगरबाट ३० लाख बजेट परेको खनालले बताए । यस्तै सडक गुणस्तर अनुगमन प्रतिवेदन महानगरबाट हराएको खनालले बताए । उनले भने, ‘तीन पटक छानबिन समिति गठन गरेर ठेकेदारको कामको गुणस्तर चेकजाँच भयो । त्यसमा कमसल सामग्री प्रयोग गरेको प्रमाणित भयो । तर, तीन पटक प्रतिवेदन पेस ग¥यौं । तीन पटकनै हरायो । फोटोकपी धन्न राखेका थियौं ।’ फेरी सो प्रतिवेदन पेस गर्ने तरखरमा समिति रहेको छ ।

      यस सडकको म्याद गत जेठमा सकिएको हो । थपिएको म्याद अनुसार गत असार २५ सम्म काम सकिनु पर्ने हो । तर, अझै यस सडकको च्याम्बरको काम बाकी छ । ठेकेदारको कारण यस सडक कालोेपत्रेका लागि परेको बजेट पनि रोकिन सक्ने अवस्थामा छ ।

        कमेन्टहरु