पाल्पाको काउले डांँडाबाट वार्षिक दुई करोडको अम्रिसा (कुुचो) उत्पादन


नवलपरासी, १६ पुस । पाल्पाको निस्दी गाउँपालिकास्थित काउले डांँडा गाउँमा वार्षिक दुई करोडको कुचो (अम्रिसाको कुुचो) उत्पादन हुने गरेको छ । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडाबासीको जीवनस्तर नै अम्रिसो खेतीले फेरिदिएको छ । यहाँको २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसो खेतीबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान बदलिएको छ । गत आर्थिक वर्षमा कुचो बेचेर यहाँका बासिन्दाले २ करोड रकम आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय रामबहादुर पाटा मगरले बताउँछन् ।
पछिल्लो समय काउले डाँडाको अम्रिसो खेती हेर्न आउनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ । यो स्थान जिल्ला सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पूर्वमा पर्दछ । काउले डाँडा आम्दानीको स्रोत मात्रै नभएर आन्तरिक पर्यटनको मुख्य आकर्षण केन्द्रसमेत बनेको छ । हिजो आज यस ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । घुम्न आउने धेरैले इलामको चिया बगानसंग तुलना गरेको स्थानीयले बताएका छन ।
काउले डाँडामा आएपछि अम्रिसोको संसार देख्न पाइन्छ । जतासुकै अम्रिसो नै अम्रिसोको घारीले ढाँकेको छ । यहाँबाट उत्तरतिर हेर्दा माछापुच्छ्रे, धौलागिरी तथा अन्नपूर्ण हिम शृङखला देख्न पाइन्छ । दक्षिणमा नवलपुर र नवलपरासीसम्मको तराईको समथर भूभागका साथै भारतको त्रिवेणी आसपासको क्षेत्रसम्म देख्न सकिन्छ । काउले डाँडा जाँदा बाटैमा पर्ने खादरको कुँडुले घर तथा आसपासको मगर बस्तीलेसमेत सबैको मन लोभ्याउने गरेको पाइन्छ ।
विशेषगरी दशैं तिहार र हिउँदको समयमा यहाँ घुम्न आउनेको भिडभाड हुने गरेको स्थानीय वीरबहादुर पाटा मगरले बताए । आन्तरिक पर्यटक छिमेकी जिल्ला तथा पालिकाहरुबाट दिनहुँ जसो आउने गर्दछ । शनिबार तथा बिदा परेको बेला एकै दिनमा दर्जनभन्दा बढी बसमा घुम्न र बनभोज खाना आउने गर्दछन् । यहाँ घुम्न आउनेहरुको लागि व्यवस्थापनको जिम्मा इन्द्रेणी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झिरुबासले लिएको छ ।
सहकारीले टिकट काट्न र अन्य व्यवस्थापनको लागि कर्मचारी राखेको छ । यहाँ घुम्न आउँदा बसको १ हजार रुपैयाँ लिने गरिन्छ । जीपको ५ सय र मोटरसाइकलको ५० रुपैयाँ र प्रतिव्यक्ति २० रुपैयाँ टिकट शुल्क लिने गरिन्छ । निस्दी गाउँपालिकाको मात्र नभएर पाल्पा जिल्लाकै पर्यटन क्षेत्रको आकर्षण केन्द्र काउले डाँडा पहिले नाङ्गो डाँडा थियो ।
विक्रम सम्बत २०६७ सालमा कबुलियती वन समूह दर्ता गरेर अम्रिसो लगाएको काउले डाँडा कबुलियती वन अन्तर समूहका अध्यक्ष दमनसिंह थापा मगरले बताए । शुरुमा १ सय १५ हेक्टर क्षेत्रमा २ सय १५ घरधुरी मिलेर अम्रिसो लगाएको अध्यक्ष थापाले बताए । हाल यो वन २ सय ४६ हेक्टरमा फैलिएको छ । झिरुबासका २ सय २७ घरधुरी आवद्ध रहेका छन । विभिन्न १८ वटा उप समूह मिलेर काम गर्दै आएको छ । पर्यटकको आकर्षण बढाउनको लागि मन्दिर तथा ठाउँ–ठाउँमा प्रतिक्षालय बनाएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा ५ सय जना क्षमता भएको सभाहलसहितको कुँडुले घर बनाइएको छ । पाल्पा जिल्लाको निस्दी गाउँपालिकाको काउले डाँडाले पुर्वको इलाम चिया बगानको झल्को दिइन्छ ।





