मधेश प्रदेश

    समाचारको विषयलाई लिएर मेयर बेचन दास तत्माद्वारा अनलाइनखबरकर्मी महतोलाई ज्यान मार्ने धम्की

    नवलपुर टुडे
    २०७९ पुस १६ | बिहान १०:०९ बजे

      जनकपुरधाम । समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले जनकपुरधाममा कार्यरत अनलाइनखबरकर्मी सैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिएका छन् । मेयर बेचनले शुक्रबार मधेश प्रदेश सांसदहरुको शपथ समारोहमा समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई प्रदेश सभा परिसरमै धम्की दिएका हुन् ।

      तीन/चार महिनाअघि नगरपालिका कार्यालयमै पत्रकार मौसम झालाई लात्तिले छातीमा हिर्काएर हाड भाँचेको भन्दै उनले महतोलगायत ५/६ जना पत्रकारको हालत त्यस्तै बनाइदिने धम्की दिए ।

      ‘तपाईंले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभयो । तपाईंको नाम त फस्टमै छ । आउनु होला नगरपालिकातिर लात्तीले हिर्काएर छातीको हाड भाँचिन भने मेरो नाम बेचन होइन । मैले भाँचिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु । तपाईंलाई छाडि्दन,’ यसरी धम्की दिँदै उनले भने, ‘म अपराधकर्म र जेलनेल भोगेर नै यहाँसम्म आएको हुँ । एक दुईपटक अझै जेल जानु पर्छ भने जाउँला । तर तपाईंलाई छाडि्दन ।’

      धम्कीका बेला सेतोपाटीका पत्रकार रोहित महतो, संचारकर्मी नगेन्द्र यादव, शैलेन्द्र यादव प्रत्यक्षदर्शी थिए । मेयर दास २०७४ मा माओवादी केन्द्रबाट जितेका थिए । नेकपा विघटन भएपछि उनी एमालेतिर लागेका छन् । दोस्रो पटक फेरि एमालेबाट मेयर जितेका छन् । एक किशोरीको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दाबाट उम्केका उनका भाइ लखन दास पनि यसपटक एमालेबाट धनुषा क्षेत्र नं. २-क बाट प्रदेश सांसदमा जितेका हुन् ।

      डेढ वर्षअघि लखनले १० वटा बाख्रा वितरण गरेर नगरपालिकाबाट एकसय बाख्रा वितरण गरेको भुक्तानी लिएको, सूचना तुहाएको भन्दै तत्कालीन कृषि शाखा अधिकृत चन्देश्वर ठाकुरलाई मेयर स्वयमले कुटपिट गरेको, कार्यालय सहयोगीबाट कार्यालयमै मालिस गराएको, जनकपुरको एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा मेयर दासमाथि कुटपिट भएको, कार्यालयमा भएको अनियमितता जन्य जस्ता अनधिकृत घटनाको समाचार पत्रकार महतोले बाहिरा ल्याएका थिए ।

      यी समाचारहरुकै कारण आफ्नो ठूलो बदनामी भएको भन्दै पत्रकार महतोलाई छातीको करंक भाँचिदिने धम्की दिएका हुन् । पत्रकार महतोले अपराधी पृष्ठभूमिका मेयरको धम्कीबाट आफू असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूतिसँगै कानूनी कारबाहीको माग गरेका छन् ।

      घटनाको प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले घोर भत्र्सना गरेको छ । प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले विज्ञप्ति जारी गर्दै पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिने मेयर दासलाई कारबाहीको मागसमेत गरेका हुन् ।

        कमेन्टहरु