मुलुकभरको भ्रमण सकेर काठमाडौ आईपुगे नेपथ्य भोलि काठमाडौंमा प्रस्तुति


काठमाडौ । मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा प्रस्तुतीपछि यस शृंखलाकै अन्तिम कन्सर्ट प्रस्तुत गर्न नेपथ्य टोली राजधानी आइपुगेको छ । के पहाड के तराइ सबैतिर ब्याण्डले चौरभरि अटाएका हजारौं हजार दर्शकको उपस्थिति पाएको थियो । यसरी नौ स्थानमा सांगीतिक देश दौडाहा सम्पन्न गरेपछि दशौं प्रस्तुतीका रुपमा भोलि पुस १६ गते शनिबार काठमाडौं उपत्यकाका दर्शकसँग भृकुटीमण्डपमा साक्षात्कार गर्नेभएको छ ।
राजधानीको प्रदर्शनका लागि ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङलगायत मञ्चमा उपस्थित हुने छ जना कलाकारका साथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली काठमाडौं आइपुगेको हो । यसपटकको दौडाहाअन्तर्गत नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो । काठमाडौंमा शनिबार आयोजित कन्सर्टका लागि भृकुटीमण्डपस्थित मैदानका ढोकाहरू बेलुकी चार बजेदेखि खोलिनेछन् ।
नेपथ्यले मुलुकभर सबैभन्दा बढी प्रस्तुती काठमाडौं उपत्यकामै दिएको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत मात्रै छपटक प्रस्तुत भइसकेको छ । भोकमुक्त अभियानअन्तर्गत एकपटक र असहायका निम्ति उनीहरूको आश्रय थलो एवं पुनस्र्थापना केन्द्रहरूमै गएर छपटक कन्सर्ट गरेको थियो । अघिल्लोपटक राजधानीमा नेपथ्यले भूकम्पमा भत्किएको दोलखाको एउटा सरकारी भवन निर्माणार्थ आफूलाई तीन वर्षअघि भृकुटीमण्डपमै उभ्याएको थियो ।
यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत यो अन्तिम कन्सर्ट पनि भृकुटीमण्डपकै फरक मैदानमा हुनलागेको हो । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गरेको हो । बिराटनगरबाट सुरु भएको यो यात्रा एक महिना लामो रह्यो । शनिबारको प्रस्तुतीका लागि भृकुटीमण्डप मैदानमा मञ्च बनाउने काम धमाधम भइरहेको छ । शुक्रबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परीक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा देशभरको यात्रा गर्नुपरेको थियो ।
‘नेपथ्य समूहले संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्नपुगेको छ,’ आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं ।’ अध्यक्ष अधिकारीका अनुसार काठमाडौं कन्सर्टका टिकटहरू भृकुटीमण्डपबाटै धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरूले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताए ।





