ताप्लेजुङमा तमु ल्होसार साझा बन्यो


ताप्लेजुङ । ताप्लेजुङमा विभिन्न कार्यक्रम गरी गुरुङ समुदायको पर्व तमु ल्होसार मनाइएको छ । तमु ल्होसार एक समुदाय, एक जाती र एक धर्मको नभई ताप्लेजुङमा सबैको साझा पर्व बनेको छ।
गुरुङ, शेर्पा, लिम्बु, ब्राह्मण, दलित सबै जातजातिका मानिस सरिक भएर तमु ल्होसार मनाएका हुन् । ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । गुरुङ परम्पराअनुसार वर्षका १२ महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन।

यसपटक तमु (गुरुङ समुदाय)ले ‘तो ल्हो’ (बाघ वर्ग)को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग)को स्वागत गरेर भव्य रूपमा पर्व मनाएका हुन् । तमु ल्होसारको पहिलो दिन छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिएको छ। दोस्रो दिनलाई राजाको ल्होसारका रुपमा लिइन्छ।

ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समीक्षा तथा विमर्श आदि हुन्। बाँसको टोकरीमा राखेको सेलरोटी, तामा या पित्तलको भाँडामा राखेको अचार, तरुललगायतका कन्दमूल र मासु यो पर्वमा मनाइन्छ।

जाडोको यो मौसममा छ्याङ, तोङबा अनि कोदोको थोरै मदिराको हल्का मादकताले यो चाडको रौनकतालाई थप रसिलो बनाउने जिल्ला तमु संघका सचिव देवराज गुरुङले बताए।





