बिश्व

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको १०० वर्षको उमेरमा निधन

    नवलपुर टुडे
    २०७९ पुस १५ | बिहान ०८:०९ बजे

      नयाँ दिल्ली, पुस १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको १०० वर्षको उमेरमा निधन भएको छ । बुधबार हिराबेनको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

      अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीकी आमा हिराबेनको स्थानीय समयअनुसार शुक्रबार (डिसेम्बर ३०) बिहान ३:३० बजे निधन भएको हो । प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनबारे ट्विट गर्दै भगवानको चरणमा गौरवमय शताब्दीको पूर्णविराम भएको बताएका छन् ।

      मोदीले आफू आमाको सयौं जन्मदिनमा भेट्न जाँदा आमाले एउटा कुरा भनेको जुन आफू सधैं सम्झिरहने बताए । उनले भने, ‘आमाले मलाई बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउनु भन्नुभएको थियो ।’

      हिराबेनको जन्म मेहसाना जिल्लाको विसनगरमा भएको थियो । यो वडनगरको नजिक छ । हिराबेनको जन्म भएको केही दिनपछि उनकी आमा अर्थात् प्रधानमन्त्री मोदीकी हजुरआमाको निधन भएको थियो । एक शताब्दीअघि विश्वव्यापी महामारीमा उनको मृत्यु भएको मोदीले बताएका थिए ।

      यस वर्षको जुन १८ मा प्रधानमन्त्री मोदीले भनेका थिए, ‘मेरी आमाको बाल्यकाल आमा बिना बित्यो, आमासँग जिद्धि गर्न पाइनन्, काखमा टाउको लुकाउन पाइनन् । आमाले उनले विद्यालय टेक्न पाइनन् । उनले गरिबी र अभाव मात्रै देखिन् ।’
       
      यस वर्ष १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए । आमाको सय वर्ष पूरा भएको अवसरमा मोदी गान्धीनगर गएका थिए । हिराबेनको १०० वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री मोदीले भावुक ब्लग पनि लेखेका थिए । बीबीसी

        कमेन्टहरु