निजि मेडिकलको एक गल्तीको कारण लियो रेबिजले एक महिलाको ज्यान


इन्द्रजित नेपाली
गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नः ६ का मधुसुधन शाहको घर शोकमा डुबेको छ । उनकी ४० वर्षीया श्रीमती रजुन शाहको रेबिजका कारण मंगलबार ज्यान गयो । आमाको किरियामा बसेकी विक्षिप्त १८ वर्षीया छोरी सदीक्षा बोल्न सक्दिनन्। जोडी गुमाएका मधुसुधन अचेत छन् ।
शाहलाई एक महिना अगाडी गुल्मीदरबार गाउँपालिकाको वडानम्बर ६ का कुमालटारीमा मंसिर ११ गते एक्कासी पछाडीबाट आएर कुकुरले हातमा टोकेको थियो । त्यसलगत्तै उनी रेबिज विरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको फेदिस्थित एक निजि मेडिकलमा गएकी थिइन् ।
तर, त्यहाँ उनले कुकुरले टोकेकोमा लगाउनु पर्ने एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताउनु भयो । उनको स्वास्थ्यमा दिनप्रति दिन समस्या बढदै गएपछि पुस ६ गते तम्घासको एक स्वास्थ्य संस्थामा उपचार गराउनु भएको थियो । त्यहाँ उनलाई रेबिज लागेको शंकाका कारण काठमाण्डौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा रिफर गरिएको बुझिएको छ । काठमाडौंमा उपचारको क्रममा उनलाई डाक्टरले रेबिज पूर्ण रुपमा शरीर भरी फैलिएको पुष्टि गरेका थिए ।
उनको शरीर भरी फैलिएकाले उपचार सम्भव नभएपछि घरमा ल्याइएको थियो । उहाँको मंगवार मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अर्यालले बताउनु भयो ।





