आइतबारदेखि पोखरा विमानस्थलबाट आन्तरिक उडान गर्दै बुद्ध एयर


काठमाडौँ, पुस १३ । बुद्ध एयरले आइतबारदेखि।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ । सरकारले पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरी (पुस १७)देखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
बुद्ध एयरले विज्ञप्ति जारी गर्दै नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्नका लागि तयारी पूरा गरिसकेको जनाएको छ । विमानस्थलमा बुद्ध एयरका लागि चेक-इन काउन्टर नम्बर ३, ४ र ५ तोकिएको छ । यस विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएकाले कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने बताइएको छ ।
बुद्धले यस विमानस्थलबाट काठमाडौं जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लैजाने साथै नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडानसमेत गर्ने विज्ञप्तिमार्फत् जनाइएको छ । अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयरले पोखराबाट भारतको बनारस पनि उडान भर्ने बताएको छ ।
बुद्ध एयरसँग अहिले ११ वटा एटिआर–७२, ३ वटा एटिआर–४२ जहाज छन् । कम्पनीले थप ३ वटा एटिआर–७२ भित्र्याउन लागेको छ ।





