बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

नवलपुर टुडे
२०७९ पुस १२ | बिहान ११:०९ बजे

रुपन्देही, पुस १२ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो ।
‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय स्थित डिएसपी क्वाटरमा राखिएको छ । डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।
केसीले गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ ‘घुस’ बार्गेनिङ गरेको आरोप छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ ।





