समाज

    चौपायबाट पीडित किसानले बुझाए नगरप्रमुख शाहलाई ज्ञापन पत्र

    नवलपुर टुडे
    २०७९ पुस ८ | मध्यान्ह ०७:०९ बजे

      कृष्णनगर, पुस ८ । कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्र भित्रमा विकराल समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनको माग गदै कृष्णनगरका स्थानीय किसानले नगर प्रमुख रजत प्रताप शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।

      नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानसहित स्थानीयको टोलीले शुक्रवार नगर प्रमुख शाहलाई कार्यकक्षमै भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

      छाडापशु चौपायाले यस क्षेत्रमा दिनानुदिन सडक दुर्घटना, बजार सौन्दर्य बिग्रेको र सम्पूर्ण किसानहरुले लगाएको बालीनाली पूर्ण रुपमा नोक्सन गरी भोकमारीको समस्या भइरहेको नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षर ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

      छाडा पशुचौपाया समस्यालाई मध्यनजर गरी यसको दिर्घकालिन समस्या समाधानको लागि समितिले माग गरेको छ । छाडा चौपायाले किसानले लगाएको अन्नबाली खाइदिनुका साथै बाटोघाटो हिँडडुलमासमेत दुर्घटना बढेको छ । लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका किसानहरुले छाडा चौपाया व्यवस्थापन गर्न नगर प्रमुख समक्ष जोडदार माग गरेका छन ।

      छाडा चौपाया नियन्त्रण गर्नुपर्ने दायित्व स्थानीय सरकारको भएकाले यसको व्यवस्थापनका लागि अनुरोधका साथै उचित ब्यवस्थापन नगरे सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन ।

      नेपाल किसान संघर्ष समितिका कृष्णनगर अध्यक्ष साजिद अलि मुसलमानद्धारा हस्ताक्षर ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय तौलिहवा, जिल्ला प्रहरी कार्यालय र कृष्णनगर नगरपालिकाका सम्पुर्ण वडालाई बोधार्थको रुपमा बुझाइएको छ ।

        कमेन्टहरु