बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या


काठमाडौं, पुस ८ । बारामा एक जना भारतीय नागरिकको गोली प्रहारबाट हत्या भएको छ । शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका – २ बरियारपुर नजिकै रहेको भुतही पुलमा एक भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको हो ।
मृतक भारतको मोतिहारी छौडादानो बस्ने ४५ वर्षीय शिवपुजन यादव रहेको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले बताए । गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि एलएस न्युरो अस्पताल परिवानीपुर पठाइएको थियो । उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा गोली लागेको थियो ।
यादवमाथि भारतीय नम्बरको मोटरसाइकलमा सवार तीन जना र अर्कोमा दुई जना सवार अपरिचित व्यक्तिले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । गोली प्रहार गरेको भन्ने खबर पाएपछि एसपीको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यादव बिहीबारमात्रै भारतबाट नेपाल आएका थिए ।





