देश

    ठमेलबाट १२ करोडको कोकिनसहित दुई विदेशी महिला पक्राउ

    नवलपुर टुडे
    २०७९ पुस ८ | मध्यान्ह ०५:०९ बजे

      काठमाडौं, पुस ८ । काठमाडौंको ठमेलबाट लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ गरेका छन् । 

      लागूऔषध कारोबारको अन्तर्राष्ट्रिय तस्करीको नियन्त्रण तथा अनुसन्धानका लागि क्रिमिनल प्रोफाइलिङ गर्ने क्रममा हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिने शंकास्पद विदेशी नागरिकहरूको विशेष निगरानी गरिरहेको अवस्थामा दुई जना महिला पक्राउ परेका हुन् । 

      पक्राउ पर्नेमा ब्राजिलको रियो दि जेनिरियोबाट दुबई हुँदै फ्लाई दुबईको उडान नम्बर एफजेड ०५८७ बाट नेपाल आएकी युक्रेनकी ३२ वर्षीया डारिया एन्टोनेन्को र लागूऔषध लिन ब्यांककबाट मलेसिया हुँदै काठमाडौं आएकी थाइल्याण्डकी २५ वर्षीया एरिया फोनक रहेकी छिन् । 

      पुस ६ मा ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी युक्रेनी महिला डारियाको साथबाट ब्यूरो टोलीले साढे पाँच केजी अवैध लागूऔषध कोकिन फेला पारेको हो । जसको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रुपैयाँ रहेको छ । ठमेलस्थित होटलबाट पक्राउ परेकी डारियाको बयानको आधारमा सो कोकिन लिन ब्यांककबाट आएकी आरियालाई प्रहरीले पक्राउ गरेको हो । 

      उनीहरूले साथमा ल्याएको दुईवटा सुटकेसभित्र फल्स बटम बनाई लुकाई राखेको लागूऔषध कोकिन साढे ५ केजी तथा अमेरिकी डलर ३००, थाई भाट ४८०, नेपाली रुपैयाँ ५ हजार र निजको नामको युक्रेनी पासपोर्ट समेत बरामद गरिएको छ । 

      उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ । 

        कमेन्टहरु