कांग्रेस संसदीय दलको नेता चयनका आज बिहान ८ बजेबाट मतदान सुरु हुँदै


काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै छ । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी परेको छ । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । यस्तै महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन् ।
संसदीय दलको नेता निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ । मतगणना र मतपरिणाम आजै आउने छ ।





