धादिङमा बस र माइक्रो ठोक्किँदा एकको मृत्यु, १५ जना घाइते


धादिङ, पुस ५ । धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । आज (मंगलबार) दिउँसो साढे १ बजे गजुरी गाउँपालिका-२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस आपसमा ठोक्किएका हुन् । माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार ती महिलाको सनाखत भएको छैन ।
उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । शव अहिले केन्द्रमै राखिएको छ । यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।





