बुटवलको सार्वजनिक चोकहरुमा पैदलयात्रीलाई जिस्काउने ७ महिला पक्राउ


बुटवल, पुस ५ । रुपन्देहीको बुटवलबाट पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्न सार्वजनिक चोकमा महिलाको समूहले पैदलयात्री पुरुषहरुलाई यौनजन्य इसारा गरेर जिस्काउने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
१८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन् ।
उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई अपशब्द बोल्ने, यौनजन्य इसाराका संकेतहरुबाट जिस्काउने, हातपात गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





