पाँचथरमा जेसिबीले पहाड खन्ने क्रममा खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ पुस ३ | मध्यान्ह ०३:०९ बजे

झापा, पुस ३ । पाँचथरमा जेसिबीले पहाड खन्ने क्रममा ढुंगा खसेर लाग्दा एक युवकको मृत्यु भएको छ । आइतबार बिहान साढे १० बजे याङवरक गाउँपालिका-३ सामाखुस्थित इङ्वा हाइड्रोपावरको जेसिबीले बाटो निर्माण गर्न पहाड खन्ने क्रममा ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुने बर्दिया बारबर्दिया गाउँपालिका-८ बस्ने ३३ वर्षीय लालबहादुर थारु रहेका छन् । ढुंगाले लागेर गम्भीर घाइते भएका थारुलाई उपचारका लागि पाँचथर अस्पतालमा लगिएको थियो । त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
उनी सोही हाइड्रोपावरमा काम गर्दै आएका कामदार थिए । प्रहरीले अपरेटरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।





