बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव :- प्रप्रअ शर्मा


कृष्णनगर, पुस २ । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बंधि समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा समपन्न भएको छ ।
कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै शर्माले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरूलाई आग्रह गर्दै बालबालिकाको संरक्षण तथा महिला हिंसाबिरूद्ध कृष्णनगर नगरपालिकाको प्राथमिक बिषय रहेको जानकारी दिनुका साथै बाल संरक्षण, लैंगिक हिंसा निवारण तथा मनोसामाजिक सहयोग सहकार्य मार्फत सम्भव रहेको बताउनु भयो ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश कैनीले बालबालिका तथा महिला माथि हुने सबै प्रकारका हिंसाहरूको निवारण हुनुपर्ने भएकाले परिवार तथा समुदाय भित्र बालबालिका र महिलाहरु सुरक्षित रहनका लागि जनप्रतिनिधि, सामाजिक अगुवा, स्थानीय पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, पत्रकार प्रहरी लगायत अन्य सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहने बताए । तीन दिने तालिमले समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको क्षमता विकास गरि समुदायमा रहेका बालबालिका, महिलाका सवाल अनि मनोसामाजिक समस्यामा रहेका ब्यक्तिहरुको पहिचान गरि सुचना प्रवाह मार्फत उपयुक्त सेवा सुनिस्चित गर्नु पर्ने जनाए ।
कार्यक्रममा सहजकर्ताका रूपमा शान्ति पण्डित, रूकैया खातुन, गणेश पौडेल लगायतले बाल संरक्षण तथा महिला हिंसाका साथै मनोसामाजिक सहयोग सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे l कार्यक्रममा महिला स्वयंसेविका, कार्यपालिका सदस्य, महिला सदस्य, जन प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कृष्णनगरमा महिला हिंसा तथा मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो l
कार्यक्रममा सहभागीहरूले छलफल गरि आफ्नो समुदायमा रहेका बालबालिका तथा महिलामाथि हुने हिंसा निवारण गर्न र मनोसामाजिक समस्यामा रहेकाहरुको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको र यस्ता घटनाहरु देखेमा वा सुचना पाएमा नगरपालिका लगायत अन्य सरोकारवाला सेवा प्रदायकहरुलाई सुचना प्रवाह गरि पिडित प्रभाबितहरुलाई सेवा सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाए ।
हिंसा निवारण तथा पिडित प्रभावितहरुलाई सेवा प्रवाह अनि समुदायको सचेतनाका लागि समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको क्षमता अभिबृद्धि गरि परिचालन गर्न सके महिला तथा बालबालिकामाथि हुने हिंसा रोकथाममा कोसेढुंगाको काम गर्ने कुरा नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए । कार्यक्रमको संचालन तथा व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।





