सर्लाहीमा गोली लागेर सशस्त्रका जवान साह घाइते

नवलपुर टुडे
२०७९ पुस २ | बिहान ०८:०९ बजे

सर्लाही, पुस २ । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चल्दा सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । गोली लागेर प्रहरी जवान ३२ वर्षीय सुरेश साह घाइते भएका हुन् ।
काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साहको अवस्था सामान्य रहेको छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।





