समाचार

    सिरहा प्रहरीद्वारा ५ हजार भन्दा बढी गाँजा खेती नष्ट

    नवलपुर टुडे
    २०७९ मंसिर २७ | मध्यान्ह ०४:०८ बजे

      सिरहा, मंसिर २७ । सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरूपमा खेतमा लगाएको ५ हजार भन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ।

      नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो।

      गाँजा तयार हुनै नदिने नीतिअनुसार प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘हामीले पाएको सूचना र यो गाँजाको बोट देखिने समय पनि भएकाले फडानी गरिरहेका छौ । सूचनाको आधारमा हामी गाँजा भएका ठाउँसम्म पुगेर फडानी गरिरहेका छौं।’

      सानो छँदा नदेखिने र सूचनासमेत नपाउने भएकाले अहिले गाँजा फडानी गरिरहेको प्रहरीको भनाइ रहेको छ। सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरूले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ।

      कतिपयले करेसाबारी तथा आँगनमासमेत गाँजाको बिरुवा लगाउने गरेको प्रहरीले बताए। परबाट हेर्दा अन्य बाली जस्तो लाग्ने गरी गाँजाको खेती गरेको प्रहरीको भनाइ छ। किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन् ।

        कमेन्टहरु