बेलहिया नाकामा अतिरिक्त रकम असुल्न नचाहिँदो दुःख दिने गरेको विदेशीको गुनासो


भैरहवा । मलेसियाका बौद्ध भिक्षु केश्री धम्मरतन ३६ सदस्यीय अनुयायीको टोली लिएर बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा छन् । उनी यहाँ आउँदा रूपन्देहीको बेलहिया नाकास्थित अध्यागमन कार्यालयमा दुई घण्टा रोकिनुपर्यो ।
अघिल्लो सोमबार साँझ ८ बजे भिसा लिन राहदानीसहित कार्यालय पुगेका उनीहरूलाई कुर्दाकुर्दै पट्यार लाग्यो । विभिन्न बहाना बनाएर उनीलाई अल्झाउन खोजियो । रात छिप्पिँदै गयो । उनीहरू अतालिए । त्यसपछि कर्मचारीले प्रतिव्यक्ति ५ डलर दिए तत्काल काम हुने बताए । उनीहरूले १ सय ८० डलर चुक्ता गरेर राति १० बजे मुलुक भित्रिन पाएको कान्तिपुरसित बताए ।
भारतको बोधगयास्थित नमो बुद्ध होलिडेज टुर एन्ड ट्राभलका गुड्डु कुमारले पनि १ सय २० भियतनामीलाई लुम्बिनी भ्रमणमा ल्याउँदा सीमामा सास्ती खेप्नुपरेको सुनाए । ‘कोरोनापछि पहिलोपटक पाहुना लिएर लुम्बिनी आएँ,’ उनले भने, ‘सीमास्थित अध्यागमन कार्यालयले कोभिड परीक्षण गर्नुपर्छ भनेर समस्यामा पार्यो ।’ विदेशीबाट हवाई यात्रा गरेर आउँदा त्यसै पनि परीक्षण गरेर आउनुपर्छ । बेलहियामा सुरुमा समस्या भयो । पछि प्रतिव्यक्ति चार सय रुपैयाँ बुझाएपछि प्रवेश पाएको उनले बताए । ‘नगद दिएपछि कुनै परीक्षण गरिएन,’ उनले भने, ‘यस्तो झन्झटले लुम्बिनी आउन मन लाग्दैन ।’
कोरोनापछि पर्यटन क्षेत्र तंग्रिन थालेको छ । यही बेला यहाँका नाकामा विदेशी पर्यटक, श्रद्धालु, उपासक/उपासिकालाई आवागमन गर्न समस्या भइरहेको छ । विदेशमा संक्रमण घट्दै गएसँगै आवतजावत खुकुलो भएको छ । पर्यटकमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसैअनुसार बुद्ध जन्मस्थल घुम्न आउँदा पर्यटकले सास्ती भोग्नुपरेको दुखेसो गरेका छन् । मलेसियाका बौद्ध भिक्षु केश्री धम्मरतनलाई स्वागत गर्न पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी आफैं लुम्बिनी आएका थिए । ‘उहाँ प्रतिष्ठित गुरु हुनुहुन्छ,’ रेग्मीले भने, ‘उहाँको भ्रमणले नेपाल–मलेसियाको बुद्ध र शान्ति पर्यटनले गति लिन सक्छ ।’
मलेसियाको मालिन्दो एयरलाई लुम्बिनीसम्म ल्याउन उहाँहरू उत्सुक रहेको उनले बताए । बुद्ध जन्मस्थल लुम्बिनीको विकास र पर्यटन प्रवर्द्धनको काममा पनि सहयोग गर्ने वचन दिनुभएकामा आफू निकै उत्साहित भएको उनको भनाइ छ । तर यस्ता व्यक्ति आउँदा नाकाका अध्यागमन कार्यालयमा अल्झनुपर्दा आफू दुःखी भएको उनले बताए । ‘उहाँहरूसँग नेपाल प्रवेश गर्न दिँदा पैसा पनि लिएको सुनें,’ उनले भने, ‘यस्तो गर्दा मुलुकको बदनाम हुन्छ ।’ ‘अतिथि देवो भव’ हाम्रो संस्कार भएको र उनीहरूलाई जति सक्यो सहज र सरल तरिकाले प्रवेश अनुमति दिनुपर्ने उनले सुनाए । स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक बेलहिया नाका भएर आउने गरेका छन् ।
घटनाबारे अध्यागमनका महानिर्देशकलाई पनि जानकारी गराएको सीईओ रेग्मीले बताए । तीन दिन घुम्न आएका उनीहरू दुई दिनमै फर्किएका छन् । ‘हामीलाई फर्कंदा नाकामा गाह्रो गराउन सक्छन्,’ मलेसियाको वेल ट्राभल एन्ड टुर्सका म्यानेजिङ डाइरेक्टर गोहो होक्स गिनले भने, ‘त्यही भएर अहिले धेरै नबोलौं ।’ आफूहरूले लुम्बिनी आउँदा अनावश्यक पैसा भने तिर्नुपरेको उनले सुनाए । यता अध्यागमन कार्यालय बेलहियाका प्रमुख वासुराम पौडेलले भने कुनै पनि विदेशी पर्यटकसँग अतिरिक्त शुल्क नलिएको दाबी गरे । ‘हामीले कानुनले तोकेको भन्दा बढी रकम लिएका छैनौं,’ उनले भने, ‘बरु उनीहरूलाई लिएर आउने भारतीय एजेन्टले लिएका हुन सक्छन् ।’
तेस्रो मुलुकबाट आउने पर्यटकसँग बेलहिया अध्यागमन कार्यालयमा मनोमानी शुल्क लिने गरेको पर्यटन व्यवसायी चन्दनसिंह कुँवर पनि बताउँछन् । ‘कोभिड परीक्षणका नाममा सास्ती दिने गरिएको छ,’ उनले भने, ‘त्यसैका आडमा विदेशीसँग पैसा असुल्ने पनि गरिएको छ ।’ नाकालाई सहज बनाइएन भने कोभिडले थला परेको पर्यटन व्यवसाय थप जीर्ण बन्दै जाने उनको भनाइ छ । ‘बैंकले ब्याज बढाएको बढायै छन् । पर्यटन व्यवसाय उठ्न सकेको छैन,’ उनले भने, ‘पर्यटक आए निकै राहत हुने बेला नाकाबाट सहज आवागमन नहुँदा व्यवसायी थप पीडित बनेका छन् ।’
लुम्बिनी मुलुकको प्रमुख पर्यटकीय गन्तव्य हो । अहिले स्वदेशी र विदेशी पर्यटकले सबैभन्दा बढी भ्रमण गर्ने ठाउँ लुम्बिनी बनेको छ । बौद्ध धर्मावलम्बी र शान्तिकामीका लागि पवित्र स्थल लुम्बिनी विविधतायुक्त बौद्ध संस्कृतिको आँझीझ्याल पनि हो । यहाँ एउटा सानो विश्व नै देख्न सकिन्छ । विभिन्न देशका कला, संस्कृति र परम्परा देख्न पाइने हुँदा स्वदेशी र विदेशीको आकर्षणमा पर्छ । ०७६/७७ मा गरिएको आर्थिक सर्वेक्षणमा मुलुकमा सर्वाधिक भ्रमण गरिएको ठाउँमा लुम्बिनी परेको थियो । साभार ईकान्तिपुर





