नागरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविर संचालन :- नगर प्रमुख शाह


कृष्णनगर, मंसिर २६ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आयोजनामा आज वडा नं १२ को वडा कार्यालयबाट सेवा प्रवाहका लागि एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालित गरिएको उक्त शिविरबाट स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण, कृषि सेवा लगायत नगरपालिकाकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सोही स्थानबाट सेवा प्रवाह गरिने कृष्णनगर नगरपालिकाले जानकारी गराएको छ ।
वडाबाट नगरपालिकाका कार्यालयमा सेवा लिन आँउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गाँउमै सेवा प्रवाह गरि आम नागरिकलाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए ।
कृष्णनगर नगरपालिकाको १२ वटै वडाहरूमा सेवा प्रवाह घुम्ती शिविर संचालन हुने कृष्णनगर नगरपालिकाको प्रशासन शाखा प्रमुख राजेश मिश्रले जानकारी दिए ।





