अर्घाखाँचीमा श्रीमानकाे हत्या गरेको आरोपमा श्रीमती पक्राउ


बुटवल, मंसिर २६ । अर्घाखाँचीमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । जिल्लाको छत्रदेव गाउँपालिका-१ चिदिका तुमचौरका ७७ वर्षीय बलबहादुर सार्कीको हत्या गरेको आरोपमा उनकी श्रीमती लक्ष्मी नेपाली पक्राउ परेकी हुन् ।
मंसिर २४ गते साँझ झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेकाे र सोही रिसले लक्ष्मीले आफ्नाे पटुकाले श्रीमानको घाँटीमा पासो लगाएर मारेकाे बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे जानकारी दिए ।
प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुँइमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिइन । सार्की दाम्पतिले झगडा हुनु पहिले रक्सी पिएका थिए ।
लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।





