देश

    धादिङको मूलपानीमा एक दम्पति मृत फेला

    नवलपुर टुडे
    २०७९ मंसिर २६ | मध्यान्ह ०२:०८ बजे

      धादिङ, मङ्सिर २६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहाले गाउँमा सोमबार बिहान एक दम्पति मृत भेटिएका छन् । आहाले गाउँका स्थानीय विष्णुबहादुर आलेमगर र उनकी श्रीमती निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।

      उनीहरुलाई स्थानीयले विहान करिब ८ बजे मृत अवस्थामा फेला पारेका वडा नं ३ का अध्यक्ष कमल आलेमगरले बताए । ‘विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ । निधार र दाहिने आँखामाथी चोट लागेको छ । शरीरमा कपडा ओडिराखेको अवस्थामा छ । चोटपटक के छ भन्न सकिन्न,’ वडाध्यक्ष आलेमगरले भने, ‘निरमाया घरभित्रै देखिएको छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ ।’

      उनका अनुसार चोट लागेको ठाउँमा रगतका टाटा देखिएको छ । मृत दम्पतिका एक छोरी र दुई छोरा छन् । छोरीको विवाह भइसकेको र छोराहरु काठमाडौंमा व्यवसाय गर्दै आएका स्थानीयले बताए । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली जाँदैछ । स्थानीय प्रहरी चौकी सल्यानटारबाट विहानै प्रहरी घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

      अनुसन्धान पछि मात्रै घटनाबारे वास्तविक कुरा पत्ता लाग्ने डिएसपी खत्रीले बताए ।

        कमेन्टहरु