मोरङमा अस्पतालको भवन निर्माणमा खटिएका मजदुरको करेन्ट लागेर मृत्यु


विराटनगर, मंसिर २६ । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । अस्पतालको नयाँ भवन निर्माणमा खटिएका मोरङको कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको आइतबार साँझ मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार काम सकेर छुट्टी भएपछि हातखुट्टा धुने क्रममा कलमा जडान गरिएको मोटरबाट साँझ करिब ७:१५ बजेतिर करेन्ट लागेर सरदार गम्भीर घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सरदारको मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार सोमबार बिहानसम्म शव अस्पतालको आकस्मिक कक्षमै राखिएको थियो । परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेपछि शव आकस्मिक कक्षमै राखिएको हो । अस्पतालले लापरबाहीपूर्ण तरिकाले कलबाट मोटर जडान गरेका कारण घटना भएको उनीहरुको आरोप छ । उनीहरुले उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
अस्पतालले भने घटनाका विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि समस्याको समाधानका लागि मृतक पक्ष र अस्पताल प्रशासनबीच छलफलको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





