लुम्बिनी प्रदेश

    खाद्य व्यवस्था कम्पनी भैरहवा कार्यालयमा तालाबन्दी

    नवलपुर टुडे
    २०७९ मंसिर २५ | मध्यान्ह ०५:०८ बजे

      रुपन्देही । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा ताला लगाइएको छ । मलको सहज आपूर्ति तथा धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन माग गर्दै नेपाल किसान महासंघ रुपन्देही र अखिल नेपाल किसान महासंघ रुपन्देहीले ताला लगाएका हुन् ।

      अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले संयुक्तरुपमा घोषणा गरेका संघर्षका कार्यक्रमअन्तर्गत आइतबार तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव महेन्द्र गिरीले बताए । दुवै संगठनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी भैरहवाका प्रमुखलाई संयुक्तरुपमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

      अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव महेन्द्र गिरीले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अगाडि बढाउन र हिउँदे खेतीका लागि मलको तत्काल व्यवस्था गर्न माग गरे । नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष वेगबहादुर कुँवरले चरणबद्ध रुपमा देशव्यापी किसान महासंघका संगठन परिचालन गर्ने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइ किसानका समस्याबारे ध्यानाकर्षण गराउने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा धर्ना तथा तालाबन्दी, विभिन्न जिल्ला र स्थानीयस्तरमा किसान प्रदर्शन, र्‍याली तथा सभाहरुजस्ता संघर्षका कार्यक्रम रहेको बताए ।

      उनले पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए दोस्रो चरणका कडा आन्दोलन गर्ने अखिल नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पन्थीले चेतावनी दिए ।

        कमेन्टहरु