काठमाडौबाट ‘राजस्वका कर्मचारी’ बताउँदै ठगी र किर्ते गर्ने आठजना पक्राउ


काठमाडौ । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा आठजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।
पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामका सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचचरकी सिर्जना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी छन्।
उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित पाँच लाख आठ हजार ६ सय ४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए।
उनीहरूमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ।





