बिश्व

    बंगलादेशमा विपक्षी दलका सांसदले गरे सामूहिक राजीनामाको घोषणा 

    नवलपुर टुडे
    २०७९ मंसिर २५ | बिहान ०९:०८ बजे

      ढाका । नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध आन्दोलनमा रहेको बंगलादेशको प्रमुख प्रतिपक्षी दलका सांसदले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

      राजधानी ढाकामा शनिबार बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का करिब एक लाख समर्थक विरोधका लागि जम्मा भएका थिए । विरोधसभाबाट बिएनपीका सबै सात सांसदले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन् । यद्यपि, प्रधानमन्त्री हसिनाको दलसँग दुईतिहाइभन्दा बढी बहुमत छ । पश्चिमा मुलुक र संयुक्त राष्ट्र संघले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । बंगलादेश एसियाको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो ।

      तर, युक्रेन युद्धले यहाँको सरकारलाई ग्यास तथा डिजेल आयात घटाउन बाध्य बनाएको छ । विद्युत् कटौती र इन्धनमा भएको भारी मूल्यवृद्धिले हालैका महिनामा प्रदर्शन भड्काएका छन् । यसबीच, बंगलादेशी टाका २५ प्रतिशतसम्म अवमूल्यन भएको छ, जसले खाद्यान्नको लागत बढाएको छ । यसबाट विपन्न र निम्नमध्यम वर्गका मानिस नराम्ररी प्रताडित हुन पुगेका छन् ।

      बिएनपीको मुख्यालयमा गत मंगलबार सुरक्षा फौजले दमन गर्दा एकजनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएपछि राजधानीमा तनाव बढेको हो । हिंसा भड्काएको आरोपमा बिएनपीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको छ भने विरोध प्रदर्शनलाई कमजोर बनाउन नोभेम्बर ३० यता सो पार्टीका करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको बताइएको छ ।

      विपक्षीले देशभर विरोध प्रदर्शन गरिरहे पनि हसिनाले आफ्नो राजीनामा र कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको मागलाई अस्वीकार गरेकी छिन् ।   

        कमेन्टहरु