चौधरी फाउण्डेशनको सहयोगमा निशुल्क पाठेघर स्वास्थ्य परीक्षण शिविर सञ्चालन


नवलपरासी, २२ मङसिर । चौधरी फाउण्डेशनले महिलाहरूलाई लक्षित गरेर पश्चिम नवलपरासीको विभिन्न तीन स्थानमा आयोजना गरेको निशुल्क पाठेघरको प्याब परीक्षण शिविरबाट करिव ६ सय महिलाले परीक्षण सेवा लिएका छन् ।
चौधरी फाउण्डेशनको प्राविधिक सहयोग तथा चेतना महिला कृषि सहकारी संस्था लिमिटेड गंगा बस्तीको आयोजना र सुस्ता गाॅंउपालिका -५ को कार्यालय तथा बर्दघाट नगरपालिका – ४ मा रहेको समुन्नत महिला मंचको सहजीकरणमा जिल्लाको विभिन्न क्षेत्र मध्ये बर्दघाट नगरपालिका – १४ को गंगा बस्ती, सुस्ता गाॅंउपालिकाको पकलिहवा र बर्दघाट नगरपालिका वडा नम्बर- ४ मा महिलाहरुको पाठेघर परीक्षण अन्तर्गत महिलाहरुको प्रजनन अंगमा क्यान्सर छ छैन भन्ने पत्ता लगाउने प्याब परीक्षण गरिएको हो । यस परीक्षणबाट बिशेष गरी ग्रामीण क्षेत्रका महिलाहरु लाभान्वित भएको फाउण्डेशनका सचिव सारिका चौधरीले जानकारी दिदैं आगामी दिनमा पनि चौधरी फाउण्डेशन सदैव जनताहरूकै साथ रहने कुरामा विश्वस्त रहन अनुरोध गर्नुभयो।
“हामीले देशै भरि विभिन्न खाले सामाजिक कार्यहरू गर्दै आएका छौ, अब हामी हाम्रो सामाजिक सेवाका कामलाई नवलपरासीका जनताहरू प्रति अझ बढी लक्षित रहेर काम गर्ने छौ” उहॉले भन्नु भयो । फाउण्डेशन सधै जनताहरूकै सेवामा तल्लिन रहन स्थापना गरिएको हो। हामी अझ बढी सेवा दिने काममा पक्कै लाग्ने छौ।
चौधरी फाउण्डेशनको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा तीन स्थानमा करिव ६ सय जना महिलाहरुले उपचार गराउनु भएको उपचारमा संलग्न डाक्टर प्रविश पौडेलले जानकारी दिनु भयो । हाम्रो टीम काठमाडौँ भैरहवा र चितवन गरि तीन स्थानबाट आएर यहॉंका महिलाहरूलाई परीक्षण गराएका हौ ।” उहॉंले भन्नु भयो परीक्षण गराएका महिलाहरु मध्ये ५० जना महिलाहरुको रिपोर्ट पोजेटिभ आएको र उक्त रिपोर्ट काठमाडौँको ल्याबमा अन्तिम परिक्षण गरे पछि क्यानसर भएको या नभएको पूर्ण रुपमा थाहा हुने पनि टिम लिडर डा. प्रविश पौडेलले बताउनुभयो ।
सुस्ता गाउँपालिकाका – ५ का वडा अध्यक्ष प्रभूनारायण यादबले यस्ता खाले परिक्षणबाट टाढा रहेका अति बिपन्न खाले महिलाहरुले यो खाले परीक्षण गराउन पाएकोमा खुसि जनाउदै चौधरी फाउण्डेशनले आगामी दिनमा पनि सामाजिक कार्यमा अझ बढी सहयोग गर्ने कुरामा विश्वास लिएको बताउनुभयो ।
यो कार्यक्रमको मुख्य आयोजक रहेको चेतना महिला कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष कमला पराजुलीका अनुसार चौधरी फाउण्डेशनले यसरी नयाॅं खाले उपचार बिधिबाट स्थानिय महिलाहरुलाई लक्षित कार्यक्रम ल्याएकोमा धन्यबाद दिंदै आफु यस्तो सामाजिक कार्यमा जोडिन पाएकोमा खुसि जनाउदै आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रमहरु फाउण्डेशनले ल्याउने छ भन्नेमा बिस्वास्त रहेको जनाउनु भयो ।
बर्दघाट – ४ मा रहेको सम्मुनत महिला मंच नेपालकी अध्यक्ष दिल कुमारी कुँवरले यस्ता खाले परीक्षण फेरीफेरी पनि फाउन्डेसनले यसै खाले र अझ उच्च स्तरका कार्यक्रम गर्ने आशा राख्नु भयो । महिलाहरुको पाठेघर प्याब परिक्षणमा सहभागी भएका महिलाहरु “हिजो आज महिलाहरु विभिन्न खाले क्यान्सरबाट पीडित भएको आबस्थामा आफ्नो स्वास्थ्य कस्तो छ भनेर आफ्नै घर आँगनमा परीक्षण गराउन पाएका छौ ।” उहॉंहरूले यस सेवाबाट ऑंफुहरू खुसि रहेको बताउदै चौधरी फाउण्डेशन र स्थानीय सहयोगी संस्थाहरूलाई धन्यबाद दिनुभयो ।
पछिल्लो समय चौधरी फाउण्डेशनले नवलपरासीका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा संलग्नता देखाउदै आएको छ । यस अगाडी पनि फाउण्डेशनले बिभिन्न स्थानमा जाडोको कपडा बिबरण गर्ने देखि लिएर बर्दघाट नगरपालिका – २ को बिकट मानिने सुखौरामा रहेको प्रगतिशिल आमा समुहलाई सिलाइ बुनाई मेशिन दिएर स्थानीय महिलाहरुलाई निशुल्क सिलाई बुनाइ तालिम दिई रहेको छ।





