नवलपरासीको प्रतापपुरको उखुबालीमा आगलागी, लाखाैंकाे क्षति


परासी । पश्चिम नवलपरासीकाे प्रतापपुरको उखुबालीमा आगलागी हुंँदा १३ लाखकाे क्षति भएकाे छ । आईतवार दिउँसाे करिब २ बजे भएकाे आगलागीले प्रतापपुर गाउँपालिका वडा नं ५ बेतहानीस्थित ७ जना किसानकाे खेतमा काट्न तयार रहेकाे उखुबाली जलेर नष्ट भएकाे ईप्रका बेलाटारीका प्रहरी नीरिक्षक नवराज केसीले बताए ।
आगाे स्थानीय वासी र प्रहरीकाेे सहयाेगमा नियन्त्रणमा लिईएकाे छ । आगलागीले बेतहानी गाउँकाे पश्चिमतर्फकाे क्षेत्रमा रहेकाे बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लाेनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीकाे खेतकाे उखुबालीमा क्षति पुगेकाे बताइएकाे छ ।
प्रहरीका अनुसार आगलागीबाट ४ विगहा ८ कट्ठा क्षेत्रकाे उखुबालीमा क्षति पुगेर १२ लाख ९० हजारकाे नाेक्सानी भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ । आगलागीकाे कारणबारे अनुसन्धान भईरहेकाे प्रहरीकाे भनाई छ ।





