धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी आन्दोलित

नवलपुर टुडे
२०७९ मंसिर १५ | मध्यान्ह ०२:०८ बजे

धनगढी, मंसिर १५ । धनगढीमा ग्रेडरले कुल्चेर विद्यार्थीको मृत्यु भएपछि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका विद्यार्थीलाई कुल्चिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
विद्यार्थीको मृत्यु भएपछि अहिले त्यहाँ प्रदर्शन भइरहेको छ । साउदका परिवार पक्ष र विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । पीडितहरूले शव उठाउन दिएका छैनन् ।
ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका – २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।





