समाचार

    ‘कम्युनिटी इम्प्याक्ट नेपाल’को सहयोगमा निर्मित भवनको समुदघाट्न

    नवलपुर टुडे
    २०७९ मंसिर १३ | मध्यान्ह ०५:०८ बजे

      खुरसेद हजाम
      नवलपरासी, मंसिर १३ । पश्चिम् नवलपरासीको सुस्ता – ३ फेन्हरामा कम्युनिटी इम्प्याक्ट नेपालको सहयोगमा निर्मित भवन समुदघाट्न तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पशुपति शिक्षा मन्दिर व्यवस्थापनको आयोजनामा ६ कोठा पक्की भवनको कम्युनिटी इम्प्याक्ट नेपालको अध्यक्ष राजेश चौधरीले आनावरण गरि उद्घाटन गरेका हुन् ।

      उक्त हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ‘कम्युनिटी इम्प्याक्ट नेपाल’का अध्यक्ष राजेश चौधरीले उत्कृष्ट शिक्षा र समृद्ध समाजको अभियान अन्तर्गत सो भवन निमार्ण गरिएको बताए । उनले कुनै पनि समाज र राष्ट्र उत्कृष्ट हुनको लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहने भन्दै सरोकारवाला सबैको पहल कदमी मार्फत उक्त लक्ष्य हासिल गर्न सकिने बताए ।

      अध्यक्ष चौधरीले आफूहरुको संस्थाले प्रतापुपुर गाउँपालिका अन्तरगत पर्ने टाँइकोटमा पनि पशुपति शिक्षा मन्दिर निमार्ण गर्ने तयारी गरेको भन्दै निम्न वर्गका नागरिकहरुको लागि ६० वटा आवास समेत निमार्णको तयारी भइरहेको जानकारी गराए । सुस्ता गाँउपालिका उपाध्यक्ष गिता चौधरीले हाल सुस्ता गाँउपालिका अन्तर्गतको विद्यालयहरुमा निकै कमजोर गुणस्तरको शिक्षा रहेको भन्दै गुणस्तरीय शिक्षाको लागि पछिल्लो समय गाँउपालिकाले प्रयास गर्दै आएको बताइन् ।

      उनले ‘कम्युनिटी इम्प्याक्ट नेपाल’का अध्यक्ष प्रतापपुर ९ बेलाटारी निवासी राजेश चौधरीको विशेष पहलमा उक्त विद्यालयको भवन निर्माण भएकाले चौधरीलाई धन्यवाद व्यक्त गर्दै विद्यालयमा आवश्यक अन्य भौतिक पुर्वाधारको काम गाँउपालिकाले नै गरिदिने बताइन् । कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लब अफ काठमाडौं मिडटाउनका अध्यक्ष डा. निर्मल प्रसाद रिजालले रोटरी क्लबको सिद्धान्त आफ्नो स्वार्थ भन्दा माथी उठेर सेवा गर्ने रहेको भन्दै शिक्षा प्रदान गर्ने सवालमा कुनै पनि भेदभाव हुन नहुने धारणा राखे ।

      त्यस्तै कार्यक्रममा पशुपति शिक्षा प्रचार समितिका केन्द्रिय गुठीयार सत्यदेव पाण्डेले उक्त विद्यालय भवन निमार्ण गर्ने संस्थाका पदाधिकारीहरुलाई इश्वरले देवदुतको रुपमा पठाएको आफूलाई महसुस भएको बताए । उनले पशुपति शिक्षा मन्दिरका विद्यार्थीहरुले राम्रो अंक ल्याएर उत्तिर्ण हुने गरेको भन्दै ति विद्यालयहरुमा स्वावलम्बन र राष्ट्रभक्तिको शिक्षा प्रदान गरिने गरेको बताए ।

      उक्त ७ कोठे भवन शौचालय तथा सिमा पर्खाल निमार्ण गर्न कुल ६० लाख लागत लागेको बताइएको छ ।

        कमेन्टहरु