सुनसरी ४ मा चार दिनदेखि रोकिएको मतगणना सुरु


सुनसरी, मंसिर १३ । चार दिनदेखि रोकिएको सुनसरी-४ को मतगणना मंगलबार दिउँसो ३ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो ।
सबै राजनीतिक दलहरूका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराई मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । सुनसरीको क्षेत्र नं. ४ मा अब चारवटा स्थानीय तहको गरी २० हजार मतगणना गर्न बाँकी रहेको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले २३ हजार ४३९ मत ल्याएर अग्रता कायम गरेका छन् ।
यस्तै नेकपा एमालेका उमेदवार जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मत ल्याएका छन । उनीहरु दुईबीचको मतान्तर ९८ मत रहेको थियो । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका उमेदवार कार्कीले धाँधली भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिए पछि मतगणना स्थगित भएको थियो ।





