देश

    अछाममा ५५ प्रतिशत मत खस्यो

    नवलपुर टुडे
    २०७९ मंसिर ४ | मध्यान्ह ०६:०८ बजे

      अछाम । अछाममा करिव ५५ प्रतिशत मतदान भएको छ। दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिव ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिए। जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उनले बताए।

      जिल्लामा क्षेत्र नम्बर  १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए। यसैगरी क्षेत्र नम्बर २ मा ३९ हजार २६३ पुरुष, ४० हजार ३६३ महिला र अन्य १ गरी ७९ हजार ६२७ जना मतदाता रहेका थिए। जिल्लाभर ७७ हजार ३९० पुरुष, ८१ हजार २५६ महिला र अन्य २ गगरी १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन्। 

      कुनै मतदान केन्द्रमा ६०-६५ प्रतिशत तथा कुनैमा ५० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृत शर्माले बताए। अहिले कर्मचारी मतपेटिका सिल गरी मतदान अधिकृतको कार्यालयमा फर्किने क्रममा रहेका छन्।  आफ्नो मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सकिएको र अब फर्किने क्रममा रहेको अछाम क्षेत्र नम्बर २ मा रहेको गंगा मावि मतदान केन्द्रका मतदान अधिकृत भीम बहादुर सिंहले जानकारी दिए। 

      ९२३ मतदाता संख्या रहेको उक्त केन्द्रमा ३ सय पाँच महिला, १ सय ९३ पुरुष गरी ४ सय ९८ मतदान भएको उनको भनाइ छ। जुन ५३.९५ प्रतिशत रहेको मतदान अधिकृत सिंहले बताए।

        कमेन्टहरु