देश

    पर्वतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ११ जना घाइते

    नवलपुर टुडे
    २०७९ कार्तिक ३० | मध्यान्ह ०८:०७ बजे

      पर्वत, कात्तिक ३० । पर्वतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भने सो दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् । बेनीदेखि मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप पर्वतको जलजला गाउँपालिका – ३ माइनडाडामा दुर्घटना भएको हो ।

      दुर्घटनामा घाइते भएका आठ जनाको म्याग्दीको बेनी अस्पतालमै उपचार भइरहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई पोखरा रिफर गरिएको छ । जीप चालक पर्वतको जलजला गाउँपालिका – २ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको वारीबेनी प्रहरी चौकीका प्रमुख बिराट ढकालले जानकारी दिए ।

      उनका अनुसार गम्भीर घाइते हुनेमा उमेर नखुलेकी सिर्जना परियार, १५ वर्षीय आषिस नेपाली र ३० वर्षीय सुमन नेपाली रहेको छ । यस्तै अन्य घाइते हुनेहरु १५ वर्षीया सपना परियार, २० वर्षीया प्रियंका बोहोरा, ४० वर्षीया माया दमाई, १३ वर्षीया यसोदा परियार, २३ वर्षीय रोजनसिंह रोदन, १० वर्षीय नविन वर्देवा, १२ वर्षीय सन्देश रत्न र १४ वर्षीय अजित परियार रहेका छन् । 

      जीपमा सवार सबैजना जलजला गाउँपालिका-२ का बासिन्दा हुन् । जीप उकालो सडकबाट करिब १५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको वारीबेनी प्रहरी चौकीका प्रमुख ढकालले जानकारी दिए । 

        कमेन्टहरु