समाचार

    पर्साबाट १५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

    नवलपुर टुडे
    २०७९ कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

      जनकपुरधाम, कात्तिक ३० । पर्साबाट नक्कली मतपत्रसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका – २ दसौताबाट १५ हजार थान नक्कली मतपत्रसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

      जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीका अनुसार भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन् । भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आउँदै गरेका उनलाई चेकजाँच गर्दा उनको साथबाट १५ हजार थान नक्कली मतपत्र बरामद गरिएको थियो । 

      उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। ‘के कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको छ,’ डिएसपी गिरीले भने, ‘निर्णय भइसकेको छैन ।’

      पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन् । यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

        कमेन्टहरु