देश

    जनताले मलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहन्छन् : प्रकाशमान सिंह

    नवलपुर टुडे
    २०७९ कार्तिक ३० | बिहान १०:०७ बजे

      काठमाडौं, कात्तिक ३० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्री भएको देख्न चाहेको बताएका छन् ।

      बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रूपमा देख्न चाहेको दाबी गरेका हुन् । 

      “चौँथोपटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । मलाई के भन्नुभएको छ भने हामीले चुनेर पठाएर तपाई उपप्रधानमन्त्रीसम्म बन्नुभयो, हामी फेरि पनि चुन्छौँ, तपाईं प्रधानमन्त्री हुनुपर्‍यो भनिरहेका छन् । अधिकांशले भनेका छन्,” उनले भने ।

      विगतका चुनावमा भन्दा यसपटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै उनले आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरू उल्लेख्य गरेको बताए । उनले जनताले काठमाडौं–१ मा खानेपानीको समस्या समाधान गर्ने कुरा पहिलो माग राखेको बताए । गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताको माग रहेको उनले बताए । 

      उनले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताए । 

        कमेन्टहरु