देश

    नेकपा एमाले बारामा अन्तरघात हुदै

    नवलपुर टुडे
    २०७९ कार्तिक ३० | बिहान ०८:०७ बजे

      कलैया, ३० कार्तिक। नेकपा एमालेका उम्मेदवार बारामा एक अर्कालाई अन्तरघात गरिरहेका छन् । निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा उम्मेदवार भएकी पूर्व कृषिमन्त्री ज्वाला कुमारी साह र (ख) बाट उम्मेदवार रहेका पूर्व समानुपातिक मधेश प्रदेश सभा सदस्य महम्मद समिरले एक अर्कालाई अन्तरघात गरिरहेका छन् ।

      बुधबार कलैया उपमहानगरपालिका – १४ बघवन, भौरा जितपुर टोलमा घरदैलो कार्यक्रममा आएका महम्मद समिरले प्रदेश सभा सदस्यको लागि सुर्यमा मतदान गर्न र प्रतिनिधि सभा सदस्यको लागि गौरैया चिरई छापमा मतदान गर्न आग्रह गरेको मतदाताहरुले बताएका छन् । एमाले पार्टीबाट नै बागी उम्मेदवार रहेका कलामुदिन अँसारी (मदिनी) रहेका छन् । अँसारीले गौरैया चिरई छाप निर्वाचन आयोगबाट पाएका छन् । महम्मद समिर र कलामुदिन अँसारी मुस्लिम भएकाले एक अर्कालाई आन्तरिक सहयोग गर्ने गरेको जन‌मानसको बुझाई रहेको छ ।

      यस्तै नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ज्वाला कुमारी साहले नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदको उम्मेदवार मुकेश साहको चुनाव चिन्ह गोलाकार भित्र हसुवा हतौडामा मतदान गर्न र मुकेश साहले प्रतिनिधि सभा सदस्य पदमा ज्वाला कुमारी साहको चुनाव चिन्ह सुर्य छापमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरीरहेको जानकारी आएको छ । ज्वाला कुमारी साह पहिलो प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित मधेश प्रदेश सभा सदस्य हुन् ।

      नेकपा माओवादी केन्द्र पार्टीबाट नेकपा एमाले तिर लागेपछि उनको पद खारेज भएको थियो । तर नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा १८ दिनका लागि कृषिमन्त्री पद पाएकी थिईन । नेकपा माओवादी केन्द्र नै धरातल रहेको कुमारी साह र नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा पदको उम्मेदवार मुकेश साहलाई जातियताको आधारमा सघाईरहेको मतदाताहरु बताएका छन् ।

      यसरी नेकपा एमालेका उम्मेदवारहरु पार्टीको ह्विपको कारण सँगै घरदैलो गरेपनि आन्तरिक रुपमा आ-आफ्नो पद सुरक्षित गर्न पार्टीसँग नै अन्तरघात गरेको पाईन्छ । साथै बाराको ३ (ख) मा पूर्व कृषिमन्त्री एवम् प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ज्वाला कुमारी साहले प्रदेश सभा सदस्य पदको उम्मेदवार महम्मद समिरको कै कारण हार ब्यहोर्नु पर्ने छ । किनभने महम्मद समिरलाई सँगै लिई घरदैलो गरिरहेकोले मतदाता बढ्ने होईन झन मतदाता घटिरहेको एमाले पार्टीका मतदाताहरु बताएका छन् ।

        कमेन्टहरु