निर्वाचनको मुखैमा राप्रपा पाल्पाका उम्मेदवार कांग्रेसमा प्रवेश


पाल्पा, कात्तिक २९ । पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार राप्रपा जिल्ला अध्यक्ष खडानन्द गैरे कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका लागि मत माग्दै घरदैलो अभियानमा सक्रिय रहँदै आएका गैरे निर्वाचनको मुखैमा काँग्रेस प्रवेश गरेका हुन् । लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उनले एक विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् ।
उनको विज्ञप्तिमा भनिएको छ – ‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ ।’
उनले नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् । गैरेलाई नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको सदस्यता हस्तान्तरण गरेका छन् ।





