देश

    क्षेत्रको व्यवस्था परिवर्तन गर्न मेरो जीत आवश्यक छ : मिश्र

    नवलपुर टुडे
    २०७९ कार्तिक २९ | बिहान १०:०७ बजे

      कमलेश चन्द्र गुप्ता
      कपिलबस्तु, कात्तिक २९ । जनता प्रगतिशील पार्टी नेपालका महासचिव एवम कपिलबस्तु क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ईश्वर दयाल मिश्रले क्षेत्रको व्यवस्था परिवर्तन गर्न आफ्नो जीत आवश्यक रहेको बताएका छन् ।

      सोमबार बहादुरगंजमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मिश्रले निवर्तमान सांसदका कारण क्षेत्रको व्यवस्था नै असफल भएको भन्दै अब क्षेत्रको व्यवस्था परिवर्तन गर्न आफ्नो जीत आवश्यक रहेको बताएका हुन् । उनले एकै ब्यक्तिलाई तीन पटक विजयी बनाए पनि क्षेत्रको अवस्था उही रहेकाले यसपटक जप्रपालाई मतदान गर्न आग्रह गरे ।

      उनले यस क्षेत्रको लागि आफूले जति कसैले पनि काम नगरेको दाबी समेत गरेका छन् । मिश्र गत निर्वाचनमा हारे पनि यस क्षेत्रका लागि करोडौं रुपैयाँको योजना ल्याएको बताएका छन् । त्यही भएर यस पटक जनताले “हाम्रोलाई होइन राम्रोलाई” भोट दिन्छ भन्ने पुर्ण आशा रहेको मिश्रले थपे । मिश्रले अहिलेसम्मका निर्वाचनमा ठिक नेता चुन्न नसकेकै कारण जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राखे ।

      नेता मिश्रले कृषि, स्वास्थ्य र शिक्षामा समेत जोड दिएका थिए । किसानको उत्थान गर्ने पार्टी जनता प्रगतिशील पार्टी नेपाल मात्र रहेको बताउँदै किसानलाई क्रेडिट कार्डको व्यवस्था, सिँचाइको व्यवस्था, बिउबिजन र मल सजिलै उपलब्ध गराउन आफूले पहल गर्ने बताए । चुनाव पश्चात् नेपाल सरकारले तत्काल किसानको व्यवस्था नसुनेमा किसान आन्दोलन सुरु गर्ने र किसानका आवाज प्रतिनिधि सभामा उठाउने समेत मिश्रले बताए ।

      यस क्षेत्रमा स्वास्थ्य र शिक्षाको अवस्था एकदमै खराब रहेको बताउदै मिश्रले उच्च कोटिको अस्पताल र कैम्पस बनाउने लक्ष्य रहेको दाबी गरे ।

        कमेन्टहरु