देश

    धारिलो हतियार प्रहार गरी मामाको हत्या गरेको आरोपमा युवक पक्राउ

    नवलपुर टुडे
    २०७९ कार्तिक २८ | बिहान ११:०७ बजे

      विराटनगर, कात्तिक २८ । मोरङको उर्लाबारी नगरपालिका–८ मा धारिलो हतियार बाम्फोक (दाउ) प्रहार गरी आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

      मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले बाम्फोकले हानेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेका हुन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ घर भएका महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । खाना खाएर सुतेका उनीमाथि बहिनीका छोरा सुजनले आइतबार राति ११:४० बजेतिर बाम्फोकले टाउकोमा प्रहार गरेका थिए । 

      निद्रामा बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान १ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मामाको हत्या गरेका सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेर अनुसन्धान थालेको छ ।

      हत्याको कारण खुलेको छैन । अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ । 

        कमेन्टहरु