विकासका लागि नयाँ अभ्यासको रुपमा एकीकृत विकास अवधारणा अघि सार्छु : विष्णु पौडेल


रुपन्देही, कात्तिक २८ । पूर्वअर्थमन्त्री तथा रुपन्देही-२ मा प्रतिनिधिसभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । रुपन्देहीको सैनामैनामा घरदैलो कार्यक्रमका क्रममा पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताए ।
पूर्वाधारसँगै मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्नेमा उनको जोड छ । प्रत्येक घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने भन्दै पौडेलले पुल-पुलेसा, बाटो, खानेपानी, विद्युत तथा शिक्षा स्वास्थ्यलगायत जनताका आवश्यकता पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको निर्माण गरिने बताए ।
सिङ्गो रुपन्देहीलाई नमूनाका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले एमाले सरकारको पालामा सुरू गरिएका आयोजनाले स्थानीयहरूले खुलेर आवश्यकता सुनाउन सक्ने भएको बताए ।





