देश

    ओखलढुंगामा श्रीमानको कुटपिटबाट दुई वर्षीया छोरीको मृत्यु, श्रीमती घाइते

    नवलपुर टुडे
    २०७९ कार्तिक २२ | मध्यान्ह ०१:०७ बजे

      ओखलढुंगा, कात्तिक २२ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अँधेरीमा श्रीमानको कुटपिटबाट दुई वर्षीया छोरीको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । स्थानीय ३५ वर्षीय राजेन्द्र राईले सोमबार राति श्रीमती २१ वर्षीया उषा राई र दुई वर्षीया छोरी ऋतिका राईलाई कुटपिट गर्दा छोरीको मृत्यु भएको हो ।

      मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी श्रीमती उषाबीच विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर उनले श्रीमतीमाथि आक्रमण गरेका थिए । प्रहरीका अनुसार आक्रमण गर्न थालेपछि छोरी लिएर भाग्न खोजेकी उषाबाट राजेन्द्रले छोरी खोसेका थिए । उषा भने भाग्न सफल भइन् । पछि स्थानीय र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् । घाइते उषाको अहिले ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।

      प्रहरीले अभियुक्त राईलाई नियन्त्रणमा लिन करिब दुई घन्टा लागेको थियो । हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन कठिन भएको थियो । उनी आफैंले आफैंलाई समेत टाउकोमा काटेर घाइते भएका छन् ।अभियुक्तको समेत ओखलढुंगा सामुदायिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

      अभियुक्त राई चार वर्षअघि जर्बजस्ती करणी मुद्दामा केही समय कारागारमा बसेका थिए । अभियुक्त र उनकी श्रीमती दुवै घाइते भएकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु