देश

    प्रधानमन्त्री देउवाले आज डडेलधुरामा दुई चुनावी सभालाई सम्बोधन गर्दै  

    नवलपुर टुडे
    २०७९ कार्तिक २० | बिहान ०७:०७ बजे

      डडेल्धुरा, कार्तिक २० । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेलधुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

      उनी आजै काठमाडौं फर्केने कार्यक्रम छ । देउवा गत बुधबार मात्र काठमाडौंबाट धनगढी पुगेका थिए ।  बिहीबार डडेल्धुरा पुगेका देउवाले तीन दिन चुनावी सभालाई सम्बोधन गरे । देउवाले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्कमा आमसभालाई सम्बोधन गरेका थिए । उनले शुक्रबार  नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरेका थिए । देउवाले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए ।

      देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा उम्मेदवार छन्। डडेलधुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ । उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन् । डडेलधुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन् ।

        कमेन्टहरु