पश्चिम नवलपरासीबाट विभिन्न मुद्दामा फरार प्रतिबादीहरु पक्राउ


नवलपरासी, कार्तिक १८ । पश्चिम नवलपरासीबाट प्रहरीले विभिन्न कसुरमा फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरेका छन् ।
शुक्रबार प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिकाको बिभिन्न स्थानबाट बिभिन्न कसूरहरुमा संलग्न भई सम्मानित जिल्ला अदालतको आदेशले बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएका फरार प्रतिबादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सरावल गाउँपालिका – २ का नारायण प्रसाद कंडेल, सोही गाउँपालिका – १ कारामसमुझ भर, दुबर केवट, राकेश यादव, खेलजित फौजदार र यज्ञनाथ रहेका छन् ।
नारायण प्रसाद कंडेलको अंश मुद्धा रु १८,१५० जरिवाना, रामसमुझ भरको हातहतियार मुद्दा ४ महिना कैद र दुबर केवटको चेक अनादर मुद्दा र रु २००० जरिवाना रहेको छ । यस्तै राकेश यादवको सवारी ज्यान मुद्दा र रु २००० जरिवाना, खेलजितको लागु औषधसम्बन्धि मुदा र रु २००० जरिवाना तथा २ महिना कैद र यज्ञनाथको जालसाजी मुद्दा र २५०० जरिवाना रहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई कैद तथा जरिवाना भुक्तानीको लागि आजै सम्मानित जिल्ला अदालत नवलपरासी पठाइएको छ ।





