कपिलवस्तुका २८ मतदानस्थल अति संवेदनशील सूचीमा


कपिलवस्तु, कार्तिक १७ । कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका दुईसय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि वर्गीकरण गरेको हो ।
जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायत विषयमा छलफल गरी मतदानस्थलको वर्गीकरण गरिएको मिश्रले बताए । “पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको हो”, उनले भने ।
समितिले एकसय सातलाई संवेदनशील र ९९ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले निर्वाचनस्थलको निरीक्षणपछि मतदानस्थलको सूची निर्धारण गरिएको बताए ।
गत स्थानीय निर्वाचनमा दुईसय ३५ मतदानस्थल र चारसय ६८ केन्द्र राखिएको थियो । यसपटक मतदानस्थल एउटा घटाएर दुईसय ३४ र मतदान केन्द्र चार बढाएर चार सय ७२ कायम गरिएको छ ।
निर्वाचनका लागि तीन हजार सात कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा स्वयंसेवक कर्मचारी स्थानीय रूपमा नै नियुक्त गरिने छ । तीनवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
कपिललस्तुमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ गरी कुल नौ पदका लागि एक सय ४३ उमेदवार छन् । जिल्लामा दुई लाख दुई हजार एकसय २५ पुरुष, एक लाख ७६ हजार एकसय पाँच महिला र दुई अन्य गरी कुल तीन लाख ७८ हजार दुई सय ३२ मतदाता छन् । रासस





