देश

    न्युरोडमा मृत फेला परेका पुरुषको हत्यामा संलग्न एकजना पक्राउ

    नवलपुर टुडे
    २०७९ कार्तिक १६ | मध्यान्ह ०६:०७ बजे

      काठमाडौं, कात्तिक १६ । काठमाडौंको न्युरोडस्थित जुद्ध सालिक नजिकै मंगलबार बिहान मृत फेला परेका एक पुरुषको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेको छ । 

      जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार हेटौंडा उपमहानगर–१२ का ६२ वर्षीय जितबहादुर लामा पक्राउ परेका हुन् । प्रहरी अनुसन्धानका क्रममा उनलाई मकवानपुर २५, बांगेमुढामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

      प्रहरी अनुसन्धानका क्रममा मृतकको निधारमा ढोका लगाउन प्रयोग गरिने अग्लो काठको फ्रेमले प्रहार गरी हत्या भएको खुलेको छ । सो फ्रेम पनि बरामद भएको छ । मृतकको भने अझै पहिचान खुलेको छैन । निम्न वर्गीय मजदुरबीच झगडा हुँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

      केन्द्रीय प्रहरी कार्यालय महाराजगञ्जबाट अनुसन्धान कार्यका लागि तालिम प्राप्‍त कुकुरसमेतको प्रयोग गरी संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य सुरु गरिएको थियो । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकसहितको अपराध अनुसन्धान अधिकृतको प्रहरी टोली खटिएका थियो ।

      घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

        कमेन्टहरु