देश

    तीस वर्षदेखि चुनाव लड्दै आएका ‘मुन्ना बाबु’ले नवलपरासी– २ मार्लान् बाजी ?

    नवलपुर टुडे
    २०७९ कार्तिक १५ | मध्यान्ह ०२:०७ बजे

      बुटवल । पश्चिम नवलपरासी–२ मा ३० वर्षदेखि निरन्तर चुनाव लड्दै आएका नेता हुन् कांग्रेसका देवेन्द्रराज कंडेल । निर्वाचन हारजीतको शृंखला व्यहोर्दै आएका पूर्व गृह राज्यमन्त्री कंडेलले हरेक निर्वाचनमा नयाँ प्रतिस्पर्धीको सामना गर्नुपर्छ ।

      अहिले उनका प्रतिस्पर्धी छन् नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी । यसअघि प्रदेश सांसद अधिकारी कंडेलका लागि नयाँ प्रतिस्पर्धी हुन् । कंडेलले २०५१ सालमा सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरी पहिलो ससद यात्रा शुरू गरेका थिए । २०५६ सालमा कंडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुवबहादुर प्रधानलाई पराजित गरेका थिए ।

      २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा उनको जीतको यात्रामा ब्रेक लाग्यो । साविक ५ नम्बर क्षेत्रबाट उनलाई तत्कालीन मधेशी जनाधिकार फोरमका रामवचन चौधरीले पराजित गरे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका थिए । उनलाई एमालेका नेता बैजनाथ चौधरीले पराजित गरेका थिए ।

      २०७० सालमा पार्टीका बागी उम्मेदवार गुणनिधि तिवारीलाई व्यवस्थापन गर्न नसक्दा कंडेलले पराजय भोग्नुपरेको कांग्रेस नेताहरू बताउँछन् । २०७४ सालमा उनले तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार घनश्याम यादवलाई भारी मतान्तरले पराजित गरी ‘कम ब्याक’ गरेका थिए ।

      अहिले एमालेका अधिकारीलाई पराजित गरेर फेरि संसद छिर्ने योजनामा कंडेल देखिन्छन् । कंडेल जिल्लामा ‘मुन्ना बाबु’को रूपमा पनि परिचित छन् ।

      कांग्रेस प्रदेश सदस्य तथा सुनवल नगरपालिकाका निवर्तमान मेयर भरत थापाले कंडेलको प्रतिस्पर्धी नै नभएको दाबी गरे । ‘कंडेलले यो क्षेत्रमा महेशपुर छोटी भन्सारलाई स्तरोन्नति गर्नुभएको छ,’ थापाले भने, ‘यो नाका हुँदै सुनवल पाल्पाको माथागढी हुँदै कालीगण्डकी कोरिडोरमा जोड्न सडक आयोजना अगाडि सारिएको छ ।’ जिल्लामा विकासका काम हेर्दा कंडेलले यसपटक पनि भारी मतका साथ जीत निकाल्ने कांग्रेसको ठम्याइ छ ।

      गठबन्धनबाट प्रदेशसभा २(१) मा बाबुराम भट्टराई निकट चिनक कुर्मी र २(२) मा कांग्रेसका बैजनाथ कलवार उम्मेदवार छन् । एमाले–जसपा तालमेलबाट प्रदेशसभा २(१) मा एमालेका थानप्रसाद गैरे र २(२) मा जसपाका धरेन्द्र यादव उम्मेदवार छन् ।

      एमाले जिल्ला उपसचिव राजनकुमार आचार्यले कंडेलले निरन्तर जिल्लाबाट चुनाव लड्दै आए पनि यस क्षेत्रको विकासमा खासै काम गर्न नसकेको भन्दै यसपटक एमालेले जीत निकाल्ने दाबी गरे । ‘एमाले–जसपा गठबन्धनले सत्तारुढ गठबन्धनलाई पराजित गर्छाैं, जीत हाम्रो हुन्छ । दीपेन्द्र अधिकारीले जित्नुहुन्छ ।’ 

      लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राप्रपाबीच तालमेल छ । यहाँ राप्रपा–लोसपा गठबन्धनबाट राप्रपाका नेता धु्रबबहादुर प्रधानले प्रतिस्पर्धा गरेका छन् भने प्रदेश २(१) मा लोसपाका पञ्चराम चौधरी र २(२)मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा कांग्रेसका कंडेल र एमालेका अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

      यो क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षको मतलाई आधार मान्दा कांग्रेस अगाडि छ, कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत छ ।

      २०७४ सालको निर्वाचनमा कांग्रेसका कंडेल वाम गठबन्धनभन्दा ८ हजार मत कम थियो तर चुनावको नजिता आउँदा कंडेलले १० हजार मतान्तरले वाम गठबन्धनलाई हराएका थिए । जबकि नेपाली कांगेसले प्रत्यक्षमा देशभर जम्मा २३ सिट मात्रै जितेको थियो । 

      जनता र समाजप्रति आफूले गरेको योगदानले गर्दा नवलपरासीका जनताले आफूलाई नै विजयी बनाउने कंडेल दाबी गर्छन् । सुनवलदेखि महेशपुर बोर्डरसम्मको क्षेत्रमा आफूले सडक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ । नवलपरासी हुँदै बाइपास सडक, परासी बजारको ४ लेन सडक, हुलाकी राजमार्ग, महेशपुर छोटी भन्सारलाई मूल भन्सारमा परिणत गर्ने कामहरू भएका छन् ।

       कंडेलकै पहलमा महेशपुर भन्सारलाई राजमार्गसँग जोड्ने महेशपुर–सुनवल सडक ४ लेनमा परिणत गरी व्यापारिक मार्गको रूपमा परिणत गर्न करीब १ अर्ब ३३ करोड बजेट व्यवस्थापनका साथै निर्माण कार्य प्रारम्भ भएको छ । सीमा क्षेत्रको विकासको मुख्य उद्देश्यसहित नवलपरासी र रुपन्देहीको बोर्डरलाई जोड्ने महेशपुर–सुनवल जोड्ने गरी भन्सीपुर–सनहीदेखि पडरीसम्म १४ किलोमिटरको रणनीतिक सडक निर्माणका लागि करीब ४० करोड बजेट व्यवस्थापन गरी कामको शुरूआत भएको छ ।

      कंडेलले नवलपरासीको विकासका लागि आफू निरन्तर लागेका कारणले नै जनता आफ्नो साथमा रहेका बताए । उखु किसान, केरा खेती गर्ने किसान बाढीको समस्या लगायतको दीर्घकालीन समाधान र आफ्नै पहलमा शुरू भएका योजनाको सफल कार्यान्वयनका लागि पनि आफूले पुनः उम्मेदवारी दिनुपरेको कंडेल बताउँछन् ।

      उनी २०५६ र २०५८ सालमा २ पटक गृह राज्यमन्त्री बनेका थिए । कंडेलले एकपटक जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । 

      एमाले उम्मेदवार अधिकारीले पछाडि परेको दक्षिणी क्षेत्रसहित पश्चिम नवलपरासीको विकासका लागि आफूहरू निरन्तर लागिपरेकाले जीत आफ्नो पोल्टामा आउने दाबी गरे । नवलपरासीमा भएको डुबान समस्यादेखि हरेक काममा आफू खटिँदै आएको अधिकारीको भनाइ छ । लोकान्तर डड्कमबाट साभार

        कमेन्टहरु