देश

    कात्तिक १७ देखि मंसिर १ सम्म चुनावी प्रचारप्रसार गर्न पाइने

    नवलपुर टुडे
    २०७९ कार्तिक १४ | मध्यान्ह ०१:०७ बजे

      काठमाडौं, कार्तिक १४ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचका लागि राजनीतिक दलले कात्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् ।

      निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दैै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने जानकारी दिएका हुन् । 

      निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

      आचारसंहिता बमोजिम नै निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने पनि आयोगले जनाएको छ ।

      साथै, दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने विषयलाई स्मरण गराएको छ ।

      photo 2022 10 31 13 16 21

        कमेन्टहरु